×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिस्नुपानी देउसीः देउवाजीको मन्त्रिमण्डल बोइलरको बथान !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिस्नुपानी देउसीः देउवाजीको मन्त्रिमण्डल बोइलरको बथान !

काठमाडौँ  – दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा बुधबार प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए ।

सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

कार्यक्रममा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ ले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तो छ यसवर्षको सिस्नुपानी देउसी

भन भन भाइ हो – देउसिरे
भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तिया – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी

प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्ने – थाहा छैन
नाता र गोताले – सताए
साला र ज्वाइँले – बिताए

भ्रष्टाचार फक्र्यो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्यौलमा हो कि – परेका
दायित्वबाट – झरेका

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डाण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भयो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।

राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्या हेर्यै भो
देउवाजीको कालो बोको छेर्या छेर्यै भो ।

सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैला,
नाच्दै आयौं छमछम ।

काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो नि गुडेछ
चढी आयौं ठमठम ।

भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि…यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल विकास बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेर्छौं रमिता ।

संवैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशको चालक ।

अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।

बाटो छैन बत्ती छैन कर्णालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।

पुननिर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।

हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?

श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।

चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।

बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छ एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेसको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाइ दिल्लीको शरण परेर ।

भनभन साथी – मधेसमा
जंगली हात्ती – मधेसमा
डुबान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकासमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: