×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० मंसिर २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

आज ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन

काठमाडौं – आज आइतबार पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ स्थानमा निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभाको निर्वाचन नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको छ । निर्वाचनमा ३१ लाख ९१ हजार नौ सय ४५ जना मतदाताले मतदान गर्नेछन् ।
पहिलो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । गोरखा क्षेत्र नम्बर २ मा माओवादी र नयाँशक्तिबीच मात्रै प्रतिस्पर्धा हुनेछ । सिन्धुपाल्चोकको २ मा राप्रपा र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।
मतदाताहरुले तीनवटा मतपत्रमा चार ठाउँमा मतदान गर्नुपर्नेछ । प्रतिनिधिसभा र प्रदेशसभामा छुट्टाछुट्टै मतपत्र हुनेछ भने समानुपातिकतर्फ केन्द्र र प्रदेशको लागि एउटै मतपत्रमा तल र माथि चुनाव चिह्न छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको कारण तालमेल भएको ठाउँमा सर्वसाधारण मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गर्न बिगार्ने सम्भावना छ । यद्यपि राजनीतिक दलका नेता तथा कार्यकर्ताले सिकाउने काम भने गरेका छन् ।
आज मतदान गर्न निर्वाचन कार्यालयले बिहीबार नै सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पु¥याउने काम गरेको छ । आज हुने ३७ निर्वाचन क्षेत्रमा चार हजार चार सय ६५ मतदान केन्द्र छ । पहिलो चरणमा छवटा प्रदेशका विभिन्न जिल्लामा निर्वाचन हुनेछ । प्रदेश नम्बर २ मा दोस्रो चरणमा मात्र निर्वाचन हुनेछ । पहिलो चरणमा सबै हिमाली र केही पहाडी जिल्लामा मतदान हुनलागेको हो । ३२ जिल्लामध्ये पाँचवटा जिल्लामा मात्र दुईवटा निर्वाचन क्षेत्र छ । अरु सबै जिल्लामा एउटा/एउटा निर्वाचन क्षेत्र छ । सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा र बाग्लुङमा मात्र दुई/दुई निर्वाचन क्षेत्र छ ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणमा प्रदेश नम्बर १ का सातवटा जिल्लाका सात क्षेत्र र प्रदेशसभातर्फ १४ क्षेत्रमा निर्वाचन हुनेछ । ती जिल्लामा छ सय ९६ मतदानस्थल र एक हजार २५ वटा मतदान केन्द्र तोकिएको छ । यो प्रदेशमा आज हुने निर्वाचनमा सात लाख १९ हजार एक सय ७६ मतदाताले मतदान गर्न पाउने छन् । ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा मतदान हुँदै छ ।
निर्वाचन आयोगका अनुसार केन्द्रीय राजधानीसमेत रहेको प्रदेश नम्बर ३ मा छ वटा जिल्लामा मात्र आज निर्वाचन हुँदै छ । छ जिल्लामा नौ निर्वाचन क्षेत्र र १८ वटा प्रदेशसभाको क्षेत्र छ । यहाँ छ सय मतदानस्थल र एक हजार दुई सय ४६ मतदान केन्द्र रहेको छ । आज हुने निर्वाचनमा यो प्रदेशमा १० लाख एक हजार ४० जना मतदाताले मात्र मतदान गर्नेछन् । आयोगका अनुसार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङमा निर्वाचन हुँदैछ ।
त्यस्तै, प्रदेश नम्बर ४ को पनि छवटा जिल्लामा आज निर्वाचन हुँदै छ । आज यो प्रदेशमा आठवटा प्रतिनिधिसभा र १६ वटा प्रदेशसभाका लागि मतदान हुनेछ । यो प्रदेशमा गोरखा र बाग्लुङमा मात्र दुई/दुईवटा निर्वाचन क्षेत्र छ । आज ४ नम्बर प्रदेशका गोरखा, लमजुङ, मनाङ, बाग्लुङ, म्याग्दी र मुस्ताङमा निर्वाचन हुनेछ । यहाँ पाँच सय ७६ मतदान स्थाल र आठ सय १७ वटा मतदान केन्द्र तोकिएको छ ।
आयोगका अनुसार आज प्रदेश नम्बर ५ का एक लाख ५५ हजार पाँच सय ५७ जना मतदाताले मात्र मतदान गर्नेछन् । यो प्रदेशम रुकुम पूर्व र रोल्पामा मात्र निर्वाचन हुनेछ । यी दुई जिल्लाका प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा क्षेत्रमा मात्र निर्वाचन हुनेछ । यो प्रदेशमा एक सय ११ वटा मतदानस्थल र दुई सय एक वटा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी, प्रदेश नम्बर ६ मा सातवटा जिल्लामा मतदान हुँदै छ । यी सातवटा जिल्लामा सातवटा नै निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ १४ वटा निर्वाचन क्षेत्र छ । निर्वाचन आयोगका अनुसार यहाँ पाँच सय ११ मतदान स्थल र छ सय चार मतदान केन्द्र कायम गरिएको छ । आज यो प्रदेशका तीन लाख ६८ हजार दुई सय सात जना मतदाताले मतदान गर्नेछन् । यो प्रदेशमा डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र रुकुम पश्चिममा निर्वाचन हुनेछ ।
आयोगका अनुसार प्रदेश नम्बर ७ का चार जिल्लामा आज मतदान हुनेछ । चार जिल्लामा चारवटा प्रतिनिधिसभा र आठवटा प्रदेशसभाका सांसद् चुनिनेछन् । यो प्रदेशमा चार सय २५ मतदानस्थल र पाँच सय ७१ मतदान केन्द्र तोकिएको छ । आज सात नम्बर प्रदेशका तीन लाख ८४ हजार नौ सय ४१ मतदाताले मतदान गर्ने छन् । आज बैतडी, दार्चुला, बझाङ र बाजुरामा मात्र निर्वाचन हुनेछ । आज भएको मतदानको गणना भने २१ गते साँझ ५ बजेपछि मात्र हुनेछ । २१ गते दोस्रो चरणको निर्वाचन हुँदै छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: