×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन संघर्ष: जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

जीवन संघर्ष: जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस पुस्तकमा पाउन सकिन्छ । बर्मामा हाल करिब तीन लाख नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । तर बर्माबाट अन्य ठाउँ सर्दै गएका नेपालीहरूको सङ्ख्या बढिरहेकोले यो सङ्ख्या हाल केही घटेको अनुमान गरिन्छ । थाईल्याण्डमा पनि एक लाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् । 
बर्मा र थाईल्याण्ड नेपाली भाषा र संस्कृतिको जगेर्नामा क्रियाशील दुई देश हुन् । यी दुबै देशहरूमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ । यी दुई देशहरूमा नेपालीहरूको मौलिक पहिचान, आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामको बारेमा सामग्रीहरू पनि यस पुस्तकमा समावेश छन् । 
चार भागमा बाँडिएको यस पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्षका कथाहरू समावेश छन् । तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयासको कुरा समावेश छ भने चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । यसै खण्डमा उहाँले आफूले व्यवसाय गर्दा पाएका सफलताका कथा समावेश गर्नुभएको छ । 
कुमार कार्कीको प्रारम्भिक लेखन र मिडियाकर्मी रमेश खड्काको सम्पादनमा तयार भएको यो पुस्तकले बर्मा, थाईल्याण्डमा नेपाली भाषा, संस्कृति र सभ्यता जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बर्मा र थाईल्याण्डमा पुस्तकको विमोचन भइसकेको छ । मिडिया सर्भिस नेपालले यो पुस्तक प्रकाशन गरेको हो । 
पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक कामहरूमा लगाइने भएको छ । आजको कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनको लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम, कुमार कार्कीको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रकम आजै हस्तान्तरण गरिएको छ । 
बर्मा र थाईल्याण्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दछन् । जीवन संघर्ष पुस्तकमा पनि उहाँले जन्मभूमि बर्मा, कर्मभूमि थाईल्याड र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गर्नु भएको छ । सारांशमा यो पुस्तक कुमार कार्कीको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा हो । 
यसले दुबै देशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ । नेपालका लागि अनागरिक भए पनि बर्मा र थाईल्याण्डका नेपालीहरूले नेपाली समाजलाई एकदमै नजिकैबाट नियालिरहेको तथ्य यस पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: