×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जसले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

जसले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक ?

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजिएको’ टिप्पणी गरेका छन् । शिक्षा क्षेत्रमा रहेका समस्या र केसीको अनशनलाई निहुँ बनाएर एउटा वर्गले राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको प्रचण्डको भनाई छ ।
सोमबार काठमाण्डुमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रचण्डले अनशनमा रहेका केसीको स्वास्थ्य परीक्षण पनि गर्न नदिने, जीवनरक्षा पनि गर्न नदिने र उनीसँग वार्ता पनि गर्न नदिने तत्व सक्रिय भएको बताए ।
‘यो हेर्दा शिक्षा क्षेत्रबाट सुरु भएजस्तो देखिन्छ । तर यहाँ बडा विचित्र भएको छ’, उनले भने, ‘उहाँको जीवनरक्षा गर्न पनि नदिने, सरकारी डाक्टरहरूलाई स्वास्थ्य परीक्षण गर्न पनि नदिने र उहाँसँग वार्ता गर्न पनि नदिने काम भइरहेको छ ।’
शिक्षा क्षेत्रका समस्या र केसीको अनशनलाई बहाना बनाएर आन्दोलन गर्नेहरू समस्या समाधानतिर नभई समस्यालाई झन् विकराल बनाउन केन्द्रित रहेको प्रचण्डको भनाई छ । ‘शिक्षा क्षेत्रमा समस्या छन्, तीनलाई समाधान गर्नु नै छ’, उनले भने, ‘तर अहिले समस्या देखाएर आन्दोलन गर्नेहरू समस्या समाधान होइन, के गरी समस्यालाई विकराल रुप दिन सकिन्छ र अराजकता फैलान सकिन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ ।’
सरकार विधेयकमा थपघट गर्न तयार भए पनि माथेमा आयोगको प्रतिवेदनबाट दायाँवायाँ गर्न आन्दोलनरत पक्ष तयार नभएको प्रचण्डको भनाई छ।
‘यदि एकाध मान्छेले जे भन्छन् त्यही गर्ने हो भने किन चाहियो निर्वाचनको नाटक, किन चाहियो संविधान, किन चाहियो प्रतिनिधिसभा, किन चाहियो प्रदेशसभा, किन चाहियो स्थानीय तह ?’, प्रचण्डले प्रश्न गरे, ‘हामीसँग भएको प्रक्रियाभित्रबाट समस्याको समाधान खोज्नुमात्र लोकतान्त्रिक हो ।’
केसीको अनशनसँगै स्वास्थ्य शिक्षालाई राष्ट्रियकरण गर्नुपर्ने बहस चलिरहेको प्रसंग उठाउँदै प्रचण्डले सबै कुरा राष्ट्रियकरण गर्दैमा समस्या समाधान नहुने बताए ।
‘निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको संयोजनबाट आर्थिक प्रणाली अगाडि बढाउने प्रतिबद्धता संविधानले व्यक्त गरेको छ’, उनले भने, ‘हामी सम्पूर्ण रुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्दैनौँ, नियमन र व्यवस्थापन गर्दै समाजवादको आधार तयार पार्ने हाम्रो उद्देश्य हो ।’
‘शिक्षा क्षेत्रलाई राजनीतिक अराजकता फेलाउने माध्यमको रुपमा, एकाध व्यक्तिको अनशनलाई राजनीतिक वैतर्णी तर्ने माध्यमका रुपमा प्रयोग गर्ने कसरत भएको छ’, उनले भने । हेर्दा शिक्षा क्षेत्रको सुधारबाट सुरु भएजस्तो देखिए पनि धमिलो पानीमा माछा मार्नेहरू सक्रिय भएको प्रचण्डको दावी छ ।
‘एकथरी मानिसहरू नेपालमा स्थितरता नहोस्, समृद्धि नहोस्, नेपालको शिक्षाक्षेत्रसहित सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने सुधार नहोस् भन्ने चाहना राख्ने र त्यसैमा विगतदेखि फाइदा कमाइरहेको सानो वर्गले अहिले पनि निहुँ बनाउन खोजेको छ र राजनीतिक अस्थिरतालाई निरन्तरता दिन खोजेको छ’, प्रचण्डले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: