हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण, करौडौंको क्षति भएको अनुमान

हेटौंडा - हेटौंडाको सुविधा सम्पन्न ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा पूर्ण रुपमा क्षति भएको छ । हलभित्र रहेका सामानहरु जलेर नष्ट भएका छन् । आज बिहान १० बजे अचानक हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । 

हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्रले आगो निभाउन नसकेपछि नेपाल आयल निगम अमलेखगन्जको वारुणयन्त्र मगाएर नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानिय मिलेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताए ।  

करिव साडे २ घण्टापछी आगलागी नियन्त्रणमा आएको छ । बिद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । हल मर्मत गर्न भनि बिहानको शो नचलाइएकाले कुनै मानवीय क्षति भने भएन । आगो लाग्ने बितीकै हलमा कार्यरत कर्मचारी भने बाहिर निस्कीएर भाग्न सफल भएका थिए ।

आगलागीबाट करौडौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको एकिन विवरण भने आएको छैन । ओम्याक्स सिनेमा हलका सञ्चालक, चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन हुन् ।  

प्रकाशित : Wednesday, August 08, 2018

recent

Popular Posts