सुदुरपश्चिमका बिकट बस्तीहरुमा पुगेन बीमाको पहुँच, 'बाचुन्ज्या, खानकी नाई, मरेबर आया रुप्या के काम ?'

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
'बाचुन्ज्या, खानकी नाई, मरेबर आया रुप्या के काम ?'
डोटी घर भएकी सुनिता कुमारी जोशीलाई 'बीमा बारे तपाईंलाई के थाहा छ ?' भन्ने हाम्रो प्रश्न र उनको आएको जवाफमा फेरी हामीले बीमा बारे जानकारी दिएपछि आएको उत्तर हो यो । अर्थात नेपालीमा भाषामा रुपान्तरण गर्दा उनी भन्दै थिइन्, 'बाँचुन्जेल खानलाई छैन, मरेपछी आएको रुपैयाँ के काम छ र ?' यो डोटीकि सुनिता कुमारी जोशीको मात्र बोली होइन, डोटी लगायतका सुदुरपश्चिमका अधिकांस भूभागका जनता बीमाको पहुँचमा छैनन् । उनीहरुलाई बीमाका बारेमा थाहा नै छैन । थाहा भएकाहरु पनि बीमा खास रुची राख्दैनन् । यसो त लाउन खान नै समस्या भएका ठाउँहरुमा यो समस्या सामान्य पनि हो । त्यसमाथि उनीहरुलाई बीमा गर्ने भनेकै बाचुन्जेल पैसा जम्मा गर्ने अनि मरेपछि त्यहि पैसा परिवारलाई उने हो भन्ने छ । 

कम्पनी बढे तर बिकटमा बढेन बीमाको पहुँच 
डोटी घर भएकी अर्की एक महिलाको तर्क छ, 'बीमाबारे केहि थाहा छ, तर अधिकांस सदरमुकाम केन्द्रित छन् । गाउँ-गाउँमा अझै पनि कोहि पनि अभिकर्ता आएको छैन ।' आफ्नो परिवारका सबै व्यक्तिलाई बीमा गर्दा भविष्यमा सजिलो हुन्छ भन्ने कुराको चेतना भएपनि बीमा आफुसम्म आइपुगी नसकेको उनको भनाइ छ । आफ्नो गाउँमा कुनै पनि बीमा कम्पनीको शाखा नपुगेको सम्झंदै उनले दुर्गम भेगका जनतालाई पनि ध्यान दिएर बीमा कम्पनीहरु आउने हो भने आफुहरुजस्तालाइ निकै फाइदा हुने उनको भनाइ छ । चाहेर पनि बीमाको शाखा नपुगेका कारणले यसबाट बन्चित हुनुपरेको छ भन्ने भनाई उनको छ । यद्यपी संचारमाध्यममा आएका बीमा सम्बन्धि ठगीका घटनाले जनतामा नराम्रो असर परेको उनको भनाइ छ । 'केहि समय अघि सिटिजन्स लाइफमा काम गर्ने एक कर्मचारीले नक्कली बीमा पोलिसी बेचेको समाचार रेडियोले घन्कायो । जसले गर्दा सिटिजन्स लाइफ मात्र होइन बीमा भन्ने बितिकैसमेत डराउने जनताहरु पनि छन् ।' उनले भनिन् ।  

हाल नेपालमा जीवन बीमा कम्पनी १८ वटा, निर्जीवन बीमा कम्पनी २० वटा र १ पुर्नबीमा कम्पनी गरी कुल ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी ३९ बीमा कम्पनीहरु सञ्चालनमा भएता अधिकांस सहर केन्द्रित हुँदा बिकट बस्तीहरुमा बीमाको पहुँचको भने पुग्न सकेको छैन । बिकट बस्तीहरुमा न बीमा बारे चेतना छ, न बीमा कम्पनीहरु बिकट बस्तीहरुमा पुग्न चाहिरहेका छन् । देशभरका जनतामध्ये करिब ११ प्रतिशत जनतामा मात्र बीमा शिक्षा रहेको भन्ने तथ्यांक आफैंमा विवादित छ । सुदुरपश्चिममा पनि समस्या उस्तै छ । मानिसको आवतजावत बढी हुने, मानिसको बाक्लो उपस्थिति हुने ठाउँहरुमा केहि बीमा कम्पनीहरुले सेवा दिइरहेका छन् । बाँकी सबैजसो ठाउँमा जनताहरु बीमाको पहुँचबाहिर छन् । एकातर्फ बीमाका फाइदा के भन्ने धेरैलाई थाहा छैन भने थाहा भएकाहरुसम्म बीमा कम्पनीहरु पुग्न सकेका छैनन् । 

बीमा अभिकर्ताको गुनासो, 'बिजनेश नै हुन्न, कसरी जानु बिकट बस्तीहरुमा ?
बीमा कम्पनीहरु शहर केन्द्रित मात्र नभई गाउँ केन्द्रित हुनु आम सर्वसाधाराणका लागि आजको आवश्यकताको कुरा भएको छ । यदि कुनै पनि बीमा कम्पनीले कुनै एउटा प्रदेशको मुख्य शहरमा आफ्नो शाखा स्थापना गरेको छ भने त्यस शाखामा बीमा अभिकर्ता पनि शहरकै व्यक्ति हुनेहुँदा उक्त अवस्थामा गाउँ गाउँमा गएर मानिसलाई बीमाको कुरा बुझाईदैन र केहि गरि बुझाएता पनि उनीहरुलाई कार्यालय जाँदा टाढा पर्ने हुँदा या टाढा भएकै काराणले आफ्ना कार्यलाई मात्र निरन्तरता दिने गर्दछन् भन्ने कुरा बीमा अभिकर्ताहरुलाई पनि थाहा छ । तर बिकटमा बिजनेश नहुने तर्क गरेर उनीहरु दुरदराजमा जान रुचाउँदैनन् । 

'ग्रामिण, पहाडी र दुर्गम क्षेत्रमा बीमा कम्पनीहरुले शाखा विस्तार गर्नुपर्छ भन्ने कुरा सत्य हो । त्यस्ता क्षेत्रमा सवै सर्वसाधाराणहरुलाई भेला गराएर, उनीहरुका घर घरमा गएर विभिन्न खालका तालिम प्रदान गर्ने, प्रशिक्षण दिने लगायतका कुरा गरे मात्र बीमा दायरा बढ्नुका साथै सो ठाउँ कै व्यक्तिलाई बीमा अभिकर्ता बनाउन सके केहि बिजनेश नआउने पनि होइन । तर सुरुमा चेतना हुनुपर्यो । अहिलेको समस्या भनेकै धेरैमा बीमा चेतना नहुनु हो।'
प्रकाशित : Tuesday, October 30, 2018

recent

Popular Posts