×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजेल चोरी प्रकरणमा अनुसन्धान लम्बिदा चलखेल, आयल निगमका प्रमुख यादवले प्रमाण नष्ट गर्न सक्ने खतरा

PRIME CA

डिजेल चोरी प्रकरणमा अनुसन्धान लम्बिदा चलखेल, आयल निगमका प्रमुख यादवले प्रमाण नष्ट गर्न सक्ने खतरा

अर्थ सरोकार

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार

बिराटनगर – नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगर र बरौनीस्थित इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट विराटनगरस्थित नेपाल आयल निगम (एनओसी)को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी भएको प्रकरणको अनुसन्धान लम्बिन पुगेको छ । अनुसन्धान थालेको करिब एक हप्ता बितिसक्दा पनि प्रक्रिया लम्बिदै गएपछि अनुसन्धानको प्रक्रियामाथि नै आशंका व्यक्त हुन थालेको छ । नेपाल आयल निगम विराटनगरले यहाँबाट पठाएको को १ ख ५९६५ नम्बरको ट्यांकरमा कतै पनि नक्कल गर्न नसकिने ताला–चाबी प्रयोग गरिएको थियो । तर डिजेल बोकेको सो ट्यांकरबाट २४८४ लिटर डिजेल चोरी भएको घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले ट्यांकरको नापजाँचबाट पुष्टि गरेको छ । अनुगमन समितिको पुष्टिका बाबजुद पनि आयल निगमको केन्द्रीय कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिलेसम्म अनभिज्ञ जस्तो बनी तेल चोरीका मुख्य मतियार बनेका व्यक्तिलाई किन कारबाही गर्न सकिरहेको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ । केही वर्ष अगाडि हवाई इन्धन डिपोबाट तीन सय लिटर हवाई इन्धन चोरी प्रकरणमा तात्कालीन आयल निगमका प्रमुख दीपक बरालले हवाई इन्धन डिपो प्रमुख वासुदेव भण्डारीलाई तुरुन्त निलम्बन गरी कारबाही प्रक्रिया चलाएका थिए ।
तर, यस पटक आपूर्तिमन्त्री मातृका यादव र नेपाल आयल निगमका प्रादेशिक प्रमुख दिनेश यादवबीचको निकट सम्बन्धका कारण नेपाल आयल निगमका माहाप्रबन्धक सुशील भट्टराईले कार्यालय प्रमुख दिनेश यादवलाई निलम्बन गर्न खुट्टा कमाएको कारण अनुसन्धान नै प्रभावित हुने खतरा बढेर गएको कुरा आयल निगमस्रोतले बताएको छ । चोरी निर्मुल पार्न ट्यांकरमा अत्याधुनिक लकिङ सिस्टम (ताला–चाबी) लगाइए पनि ठूलो परिमाणमा डिजेल चोरिएको २४ घण्टा नबित्दै नेपाल आयल निगमले घटनाको छानबिनका लागि उपनिर्देशक अन्जना पोखरेलको संयोजकत्वमा इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार केसी सम्मिलित तीन सदस्य छानबिन समिति बनाएर गत शुक्रबार नै विराटनगर पठाएको थियो । छानबिन समितिले पनि अनुसन्धान जारी राखेको छ । तर ठोस कारण अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । ट्यांकरबाट कसरी डिजेल चोरियो भन्ने कुरा यतिका दिनसम्म पनि यकिन नहुँदा छानबिन समितिको सीमा र क्षमतामाथि आशंका उब्जिएको हो । अहिले पछिल्लो समय छानबिन समिति भारतको बरौनी डिपोमा पुगेर अनुसन्धानमा सक्रिय रहेको कुरा थाहा भएको छ । उनीहरूलाई चोरी घटनाको सबै तरिकाबाट अनुसन्धान गर्न कार्यादेश दिइए पनि अनुसन्धान किनारा लाग्न नसकेको हो ।
स्रोतका अनुसार मुख्य आरोपित कार्यालय प्रमुख दिनेश यादवलाई निलम्बन नगरिएका कारण अनुसन्धान प्रक्रियामा बाधा पुगेको दाबी समाचारस्रोतले गरेको छ । कार्यालय प्रमुख यादवले पछिल्लो समय केही महत्वपूर्ण प्रमाणहरु समेत नियन्त्रणमा लिई आफू ढुक्क भएर बसेको आरोप लाग्न थालेको छ । छानबिन समितिले डिजेल लोड गरिएको ट्यांकरको प्राविधिक निरीक्षण र नापजाँच गर्दा २४८४ लिटर डिजेल कम भएको पुष्टि भने गरिसकेको छ । तर दिन बित्दै जाँदा विभिन्न चलखेल हुन सक्ने भन्दै केही ट्यांकर व्यवसायीहरूले छानबिनको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने धारणा राखेका छन् । घटनाको छानबिन गरिरहेकी उपनिर्देशक पोखरेलले अनुसन्धान अघि बढिरहेको भन्दै यसबारे नबोल्ने बताइन् । अनुसन्धानमा प्रभाव पर्ने भन्दै यसबारे आफू नबोल्ने उनले बताएकी हुन् । उनकै निगरानीमा एनओसी डिपोमा राखिएको ट्यांकरको डिप परीक्षण गरिएको थियो । ट्यांकरको ढक्कनमा लगाइएको अत्याधुनिक ताला–चाबीलाई बिगार्न सकिन्छ कि सकिंदैन भनेर पनि परीक्षण गरिएको थियो । इन्धन भर्ने आईओसी र खन्याउने एनओसीको विराटनगर डिपोमा मात्रै रहने अत्याधुनिक ताला कसरी खोलियो र डिजेल चोरी भयो भन्नेबारे छानबिन समिति अहिलेसम्म ठोस तथ्य फेला पार्न नसकेको बताइएको छ ।
यतिका दिन अनुसन्धान टुंगोमा नपुग्दा अनुसन्धान प्रक्रियाप्रति नै आशंका एवं टीका–टिप्पणी सुरू भएको छ । नेपाल आयल निगमका प्रादेशिक कार्यालयका दिनेश यादवले सबै प्रमाण आफ्नो अधिनमा लिइसकेपछि घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै ट्यांकरको चाबी साउन १६ गतेदेखि नै उपप्रबन्धक रामकृष्ण श्रेष्ठ र सहायक प्रबन्धक वीरेन्द्र मिश्रलाई जिम्मा दिएको भन्दै पन्छिएका छन् । उनले निगमको जिम्मामा रहने चाबी दुरुपयोग नभएको भन्दै उतैबाट (आईओसी) को कमजोरी भएर आएको उनले दाबी गर्न थालेका छन्  । ट्यांकर चालकहरूको विरोधका बाबजुद विराटनगरबाट चल्ने चार सय वटा ट्यांकरमा काट्न, बंग्याउन र मोड्न नमिल्ने स्टिलको ताला–चाबी प्रणाली जडान गरिएको थियो । त्यस्तो प्रणाली जडान भएको ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव हुने सम्बद्ध व्यवसायीहरूले नै बताइसकेका छन् । तेल चोरी प्रकरणको अनुसन्धान गरिरहेको समितिले अनुसन्धानका क्रममा ट्यांकरभित्र रहेको इन्धनको गहिराई नाप्न खटिने कर्मचारी, चाबी राख्ने कर्मचारी, ढुवानीकर्ता, ट्यांकर चालक सर्वेन्द्र स्वर्णकार र अन्य कर्मचारीहरूसँग बयान लिइसकेको छ ।
पछिल्लो समय ट्यांकर मालिक सुकदेव सिंहले आफ्नो कमजोरी भएको स्वीकार गरेको भन्दै निगमका निर्देशक यादवलाई उम्काउन लागिएको निगमकै कर्मचारीहरूले दाबी गरेका छन् । यादवकै योजनाअनुसार निगमसँग रहने चाबी ट्यांकर चालकहरूलाई उपलब्ध गराउने गरेको केही ट्यांकर व्यवसायीहरूले आरोप लगाएका छन् । यादव प्रमुख भएर आएपछि विराटनगर डिपोको घाटा बढेको भन्दै पेट्रोलियम व्यवसायीहरूले नै ध्यानाकर्षण गराएका थिए । स्मरण रहोस् निगमको अमलेखगञ्ज डिपोको प्रमुख हुँदा चलान सच्याएको, लस अत्यधिक बढाएको लगायका कारण जनाउँदै दिनेश यादवसहित २२ जना कर्मचारीलाई निगम व्यवस्थापनले कारबाही गरेको थियो । त्यसभन्दा अगाडि पनि प्रमुख यादवलाई भैरहवाको भलुवाई डिपोबाट तेल चारीमा संलग्न भएको भन्दै नेपाल आयल निगमको ब्यवस्थापनले निलम्बन गरी कारबाही गरिसकेको थियो । – आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: