साहित्य रुचाउने पाका बैंकर देवेन्द्र प्रताप शाह, जो क्रामक बैंकिङको विपक्षमा छन् !

  • मुना कुँवर / नयाँ पत्रिका 
आठ दशकअघि विसं १९९४ कात्तिक ३० गते तत्कालीन राजा त्रिभुवनबाट उद्घाटन भएको नेपालको पहिलो बैंक हो– नेपाल बैंक । सरकारी र निजी क्षेत्र मिलेर स्थापना गरिएको यो बैंकले नै नेपालमा पहिलोपटक संस्थागत रूपमा वित्तीय कारोबार सुुरु गरेको थियो । लामो समयसम्म नेपालमा वित्तीय सेवा प्रदान गर्ने यो एउटा मात्रै संस्था थियो । तर, अवस्था सधैँ उस्तै रहेन । स्थापनाको ८२ वर्षको अवधिमा यसले अनेकन हिउँद–बर्खा झेल्यो । हुँदा–हुँदा केही वर्षअघिसम्म यो बैंकको नाम सुन्नेबित्तिकै लगानीकर्तादेखि निक्षेपकर्ता र साधारण जनतासम्मले नाक खुम्च्याउने स्थिति थियो ।तर, फेरि परिस्थिति फेरिएको छ । नेपाल बैंकले आफ्नो पुरानो साख फर्काउँदै छ, सेयरमा लगानीकर्ताको चासो बढ्दो छ, निक्षेपकर्ता र ऋणीहरूले फेरि पनि यो बैंकलाई रोज्न थालेका छन् । पछिल्लो समय दोस्रो बजारमा धेरै कारोबार हुने सेयरमध्ये नेपाल बैंक पनि एक हुन पुगेको छ । विगत तीन वर्षमा बैंकको वित्तीय अवस्थामा उत्साहप्रद सुधार भएकाले यो सम्भव भएको हो । र, बैंकलाई आजको अवस्थामा ल्याउने श्रेय बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहलाई जान्छ । ‘बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्दा बैंककोे पास्ट ग्लोरी (विगतको गौरव)लाई फर्काउँछु भन्ने प्रण गरेको थिएँ,’ बैंकर शाह भन्छन्, ‘साढे तीन वर्ष अवधिको तथ्यांकले त्यो पुष्टि गरेको छ ।’

पुरानो पुस्ताका बैंकर
देवेन्द्र प्रताप शाह नेपालको पुराना पुस्ताका बैंकर हुन् । विसं २००९ मा धादिङमा जन्मेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नात्तकोतर र कानुनमा स्नातक तहसम्म अध्ययन पूरा गरे भने भारतबाट चार्टर्ड एकाउन्टेन्सीको डिग्रीसमेत लिएका छन् । कृषि विकास बैंकमा शाखा अधिकृत स्तरबाट बैंकिङ करिअर सुरु गरेर प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी सम्हालेका शाहले ०५९ मा सो बैंकबाट अवकाश लिएका थिए । ०६४ पछि उनले केही समय बिमा समितिको कार्यकारी अध्यक्ष भएर पनि काम गरे । विदेशी र नेपाल राष्ट्र बैंकको व्यवस्थापनपछि नेपाल बैंक लगानीकर्ताको हातमा आयो र बैंकको सञ्चालक समितिले ०७१ को अन्त्यतिर उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ग-यो । अत्यधिक सञ्चालन खर्च, कमजोर व्यवस्थापन, अधिक निष्क्रिय कर्जालगायत कारणले तत्कालीन समयमा उक्त बैंकमा प्रवेश गर्नु आफैंमा चुनौतीपूर्ण भएको उनको स्वीकारोक्ति छ ।

विदेशी व्यवस्थापन र राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापन गरी १२ वर्षसम्म सुधारको प्रयासले नेपाल बैंकमा केही सुधार त भयो, तर पूर्ण सुधार भने हुन सकेन । त्यसैले ६ अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी, करिब ३ अर्ब रुपैयाँ ऋणात्मक रिजर्भ, पुग–नपुग पाँच प्रतिशत निष्क्रिय कर्जा, ४.५८ प्रतिशत पुँजी पर्याप्तताको अनुपात, ६ प्रतिशतभन्दा बढी कर्मचारी शिरोभार खर्च, न्यूनतम प्रतिशेयर आम्दानी, नकारात्मक सञ्चालन नाफाजस्ता परिसूचकसहितको बैंकको जिम्मेवारी शाहले विरासतमा पाएका थिए । आफूले जिम्मेवारी सम्हालेपछि पनि पुँजीको अनुपात नपुगेका कारण यस बैंकलाई राष्ट्र बैंकले पिसिए (प्रम्प्ट करेक्टिभ एक्सन) लगाउन पत्राचार गरेको उनी सम्झिन्छन् । वित्तीय रूपले बिरामी बैंकलाई राष्ट्र बैंकले पिसिए लगाउने गर्छ ।

तर, शाहको नेतृत्व पाएपछि बैंकको परिसूचकमा सोचेभन्दा बढी सुधार देखिन थाल्यो । त्यसपछि राष्ट्र बैंक आफ्नो योजनाबाट हच्केको स्मरण गर्छन्, त्यहाँका सिनियर अधिकृतहरू । कुनै पनि बैंकको वित्तीय स्वास्थ्य जाँच्ने सबैभन्दा ठूलो परिसूचक भनेको पुँजी पर्याप्तताको अनुपात हो । राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकले कम्तीमा १० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । शाहले बैंकको जिम्मेवारी सम्हाल्दा यो अनुपात ४.५८ प्रतिशत मात्र थियो भने ०७५ असोज मसान्तमा २३.९ प्रतिशत पुगेको छ, जुन नेपालको बैंकिङ क्षेत्रमै सबैभन्दा उच्च हो ।

सकारात्मक वित्तीय परिसूचक
बैकहरूको कुल कर्जाको पाँच प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा हुन नहुने नेपाल राष्ट्र बैंकको प्रावधान भएकोमा कुनै वेला नेपाल बैंकको यो अनुपात ६० प्रतिशतको हाराहारीमा थियो । अहिले यो अनुपात २.७८ प्रतिशत मात्र छ । यसैगरी, रिजर्भ एन्ड सरप्लस करिब तीन अर्ब रुपैयाँ ऋणात्मकबाट १० अर्ब रुपैयाँ धनात्मक भएको छ । सञ्चित नोक्सानी ६ अर्ब रुपैयाँबाट झरेर शून्य मात्र भएको छैन, साधारण रिजर्भका अतिरिक्त सञ्चित तथा वितरणयोग्य नाफा करिब दुई अर्ब रुपैयाँ जम्मा भइसकेको छ । त्यस्तै, कर्मचारी खर्च करिब ६ प्रतिशतबाट दुई प्रतिशतमा झरेको छ । विगत साढे तीन वर्षको अवधिमा पाँच सय ८७ जना कर्मचारी घटाउन शाह सफल भएका छन् ।

तथ्यांकअनुसार बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ३९ करोड रुपैयाँभन्दा बढी मुनाफा कमाएको छ । हालै राष्ट्र बैंकले एनएफआरएस पद्धति लागू गरेकाले यस नाफामा केही हेरफेर हुन सक्ला, तर यसअघिको रेगुलेटरी व्यवस्थाअनुसार यस बैंकले कमाएको नाफाको अंक यही हो । चालू आवको पहिलो त्रैमासमा पनि मात्रै ९१ करोड मुनाफा आर्जन गरेको छ । शाह भन्छन्, ‘नियुक्त हुँदा हासिल गर्नुपर्ने भनी तोकिएको लक्ष्यभन्दा दोबर प्रगति भएको छ भने बैंकले म आउनुअघि तयार गरेको रणनीतिक योजनाले तोकेको लक्ष्यलाई समेत बैंकको प्रगतिले धेरै पछाडि छाडेको छ ।’

नेपाल बैंकमा विगत साढे तीन वर्षमा भएका सुधारले देशको बैंकिङ क्षेत्रमा यसको उपस्थितिलाई प्रतिष्ठित बनाएको छ । सञ्चालन मुनाफाका हिसाबले बैंक २६औँ स्थानबाट चौथो स्थानमा र खुद मुनाफामा ११औँ स्थानबाट पाचाैं स्थानमा उक्लेको छ ।

कर्मचारी तथा सञ्चालन खर्च घटेर ११ स्थानबाट चौथो स्थानमा पुगेको छ भने जगेडा कोषमा बैंक २६औँ स्थानबाट छैटौँ स्थानमा पुगेको छ । यसैगरी, प्रतिसेयर आम्दानी २०औँ बाट चौथो स्थानमा पुगेको छ भने क्यापिटल एडुकेसी रेसियो २६औँबाट पहिलो स्थानमा आइपुगेको छ । यस किसिमको प्रगति कसरी सम्भव भयो ? उनी भन्छन्, ‘मेरो एक्लो प्रयासले मात्रै होइन, सबैको प्रयासका कारण यो चमत्कार हुन सकेको हो ।’

साहित्य रुचाउने बैंकर
सफल बैंकर शाह साहित्यकार पनि हुन् । बैंकको सिइओको जिम्मेवारीका कारण हाल उनी लेखनमा सक्रिय छैनन् । भन्छन्, ‘तर अवकाश लिएपछि जाने ठाउँ त त्यही हो ।’ ०२७ सालमा त्रिचन्द्र कलेज पढ्दा नै उनले कथा–कविता लेख्न थालेका थिए । ०३८ सालमा उनको ‘अपरिचित देश’ नामक कथासंग्रह साझा प्रकाशनले प्रकाशन गरेको थियो । साहित्यिक पत्रकारितासमेत गरेका शाहले लिएका अन्तर्वार्ताहरूको संग्रह ‘केही साहित्यकारहरूसित’ पुस्तक ०५९ मा प्रकाशित भएको थियो । कृषि विकास बैंकमा काम गर्दाको ३० वर्षे अनुभव सँगालिएको ‘आफ्नै परिवेश’ नामक उनको संस्मरण ०६८ सालमा प्रकाशित भएको थियो ।

आक्रामक बैंकिङको विपक्षमा
यतिवेला नेपालको बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिआरआर रेसियो ६ प्रतिशतबाट घटाएर चार प्रतिशतमा ल्याएपछि बैंकमा तरलता थपिएको छ । तर, सिसिडी रेसियो ८० प्रतिशत नै कायम राखिएकाले लगानीयोग्य रकम नबढेको शाह बताउँछन् ।

पछिल्लो समय केही बैंकले आक्रामक रूपले काम गरेका छन् । उनी त्यसलाई अनुशासित बैंकिङ मान्दैनन् ।‘ जनताको निक्षेप लिने संस्थाले आक्रामक बैंकिङ गर्न मिल्दैन, धनी व्यक्तिद्वारा गठित इन्भेस्टमेन्ट बैंकहरूले मात्र आक्रामक व्यवसाय गर्न सक्छन्,’ उनी भन्छन्, ‘राष्ट्र बैंकले अधिकतम ८० प्रतिशत तोक्यो भन्दैमा बैंकहरूले आफ्नो सिसिडी रेसियो ७९ प्रतिशत पुर्‍याउने होइन, केही तलै बस्ने हो, तर यहाँ त्यस्तो भइराखेको छैन ।’बैंकहरू नाफाको पछाडि कुदेको उनको भनाइ छ । ‘नाफा बढाउन खोज्नु त उनीहरूको अधिकार नै हो, तर यो अस्वाभाविक स्तरको भयो कि भन्ने कुरा छ ।

बैंकहरूलाई परेको नाफाकै दबाबले अहिलेको संकट आएको हो,’ उनको बुझाइ छ । बैंकहरूमा लगानीयोग्य रकमको अभाव रहेको बताइए पनि नेपाल बैंकमा भने त्यस्तो समस्या नभएको दाबी उनको छ । उपयुक्त समयमा एफपिओ जारी गरिएका कारण तरलताको अभावले यसपालि नेपाल बैंकलाई छोएको छैन । उनका अनुसार केन्द्रीय बैंकको कडा नीतिका कारण नेपालको बैंकिङ क्षेत्र हाललाई स्थिर छ । तर, बैंकहरूको व्यवहारका कारण कुनै पनि समयमा यस क्षेत्रमा समस्या आउन सक्छ । ‘यस्तै अवस्था रहिरहे भविष्यमा वित्तीय अस्थिरता, स्टक मार्केट क्र्यास गर्ने, बैंकहरूको निष्क्रिय कर्जा बढ्ने हुन सक्छ,’ उनी थप्छन्, ‘यसबाट देशको अर्थतन्त्रमा गम्भीर चोट पुग्ने भएकाले राष्ट्र बैंकले आक्रामक बैंकिङ गर्ने कामलाई रोक्ने औजार प्रयोग गर्न ढिलो गर्न हुन्न ।’

स्मार्ट बैंकको परिकल्पना
वित्तीय परिसूचकमा अपेक्षित सुधार भइसकेकाले आगामी दिनमा नेपाल बैंक गैरवित्तीय क्षेत्रमा केन्द्रित हुने उनको विचार छ । उनी सबै शाखालाई स्मार्ट बनाउन चाहन्छन् । शाह सरकारी बैंकप्रतिको आममानिसको अवधारणालाई परिवर्तन गर्न चाहन्छन् । ‘यसका लागि नेपाल बैंकले अब ‘कस्टमर सेन्ट्रिक ट्रान्सफर्मेसन’को योजना बनाउनुपर्ने हुन्छ, किनकि बैंकको वित्तीय ट्रान्सफर्मेसन भइसक्यो,’ उनी भन्छन् । ग्राहकलाई केन्द्रमा राखेर गरिने रूपान्तरणले वित्तीय उपलब्धिलाई दिगो बनाउने उनको धारणा छ । ‘नत्र यो प्रगतिको अल्पायु हुन सक्छ,’ उनी भन्छन् । कस्टमर सेन्ट्रिक ट्रान्सफर्मेसन अर्थात् ग्राहकमुखी रूपान्तरणमा बैंकले ग्राहकको वित्तीय सहयोगी र सल्लाहकार भएर काम गर्नुपर्ने उनी बताउँछन् । ग्राहकको आवश्यकता के हो ? के गरेमा उनीहरू खुसी हुन्छन्, यसतर्फ बैंकले ध्यान दिनुपर्ने र अहिलेसम्म यसमा बैंकको ध्यान कमै पुगेको ठम्याइ उनको छ ।

(यो फिचर स्टोरी नयाँ पत्रिकाबाट साभार गरिएको हो ।) 
प्रकाशित : Tuesday, December 04, 2018

recent

Popular Posts