×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच सय ट्याक्टर खरिद प्रकरण : चार करोड भ्रष्टाचारको योजना छताछुल्ल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पाँच सय ट्याक्टर खरिद प्रकरण : चार करोड भ्रष्टाचारको योजना छताछुल्ल

कैलाली – साँढे आठ अर्ब रुपैयाँको भ्रष्ट्राचार काण्डले बदनामी कमाएको बाँकेको सिक्टा सिंचाइ आयोजनाको खबर पछि अर्को राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामा करोडौ रुपैयाँ भ्रष्टाचार गर्नेे योजना बाहिर आएको छ । आयोजनाले ५० देखि ७५ प्रतिशत अनुदानमा किसानलाई बाँड्ने कृषि औजार खरिदमा करोडौ रुपैयाँ कमिसन खाने योजना बनाएको रहस्य खुलेको हो ।
आयोजनाका कृषितर्फका प्रमुख सुनिल सिंहले टीकापुरकै व्यवसायी परसुराम चपाईको नयाँ तुलसी ट्रेड लिङ्कलाई बिना प्रतिस्पर्धा पावर ट्रिलर (ट्याक्टर), टिपर र सिडर गरी पाँच सय थान खरिदमा करोडौ रुपैयाँ भ्रष्टाचार गर्ने तयारी थालेको कुरा बाहिर आएको हो ।
विगतमा बिना प्रतिस्पर्धा पावर ट्रिलर खरिदमा करोड रुपैयाँ भ्रष्टाचार भएको आयोजनामा यसपल्ट पनि सेटिङमा करोडौं रुपैयाँ भ्रष्टाचार गर्न बिक्रेता र खरिदकर्ताबीच छलफल भइरहेको स्रोतले बताएको छ ।
नयाँ तुलसी ट्रेड लिङ्कका प्रोपराइटर परसुराम चपाईसंग छलफल गर्न सिंचाई आयोजना कृषितर्फका प्रमुख सुनिल सिंह अहिले काठमाण्डौंमा छन् । कृषिको आधुनिकीकरण नाम दिइएको दोस्रो पाँच बर्ष कार्यक्रममा वितरण गर्ने अनुदानका लागि आयोजना छनौट समितिको अध्यक्षमा कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावल छन् ।
करोडौं रुपैयाँमा खरिद गरिने पाँच सय पावर ट्रिलर र त्यसमा लाग्ने अन्य मेसिन बिना प्रतिस्पर्धा कोटेशनमार्फत नयाँ तुलसी ट्रेड लिङ्कबाटै खरिद गर्ने विषयमा सांसद रावलको समेत सहमति रहेको देखिएको छ ।
स्रोतले भन्यो( १ लाख ५० हजार मूल्य पर्ने २२ एचपीको एउटा पावर ट्रिलर आयोजनाले २ लाख २५ हजार रुपैयाँमा खरिद गर्ने तयारी गरेको छ । प्रति पिसमा ७५ हजार रुपैयाँ कमिसन खाने तयारी गरिएको सिंचाई आयोजनाका एकजना कर्मचारीले बताए । यसरी ७५ हजार रुपैयाँका दरले आयोजना प्रमुख सिंहले पौने ४ करोड रुपैयाँ कमिसन एक्लै कुम्ल्याउने प्रबन्ध मिलाएको स्रोतको दाबी छ ।
एक दशक अघिसम्म दैनिक गुजारा गर्न पनि धौःधौ पर्ने अवस्थाबाट आएका नयाँ तुलसी ट्रेड लिङ्कका प्रोपराइटर चपाई छोटो समयमै करोडपति बन्न सफल भएको कैलालीकै नबधनाड्य हुन् । बाहिर देखाउने व्यवसाय जेसुकै भएपनि चपाईको भित्री कथा भने फरक भएको अहिले टीकापुरमा चर्चा छ ।
टीकापुरका अर्का नवधनाड्य टीकाराम जैसीसंगको साझेदारीमा भारतबाट चोरी (डकैती गरेर नेपाल भित्रिएको सुनचाँदी र भारतीय रुपैयाँ न्यून मूल्याङ्कन गरी खरिद गरेर करोडौ रुपैयाँको सम्पत्ति जोड्न सफल भएका चपाई जैसी समूहको दुई महिना अघि मात्र भारतबाट चोरी गरी ल्याएको करीब एक करोड भारतीय रुपैयाँ नेपाल प्रहरीले भजनी इलाकाबाट पक्राउ गरेको थियो ।
नेकपाका नेता जनार्दन शर्मा, बर्षमान पुनदेखि अध्यक्ष प्रचण्डसम्म प्रगाढ सम्बन्ध बनाएका जैसी र चपाईहरू राजनीतिक दवावमा ठेक्कापट्टा हात पार्दै आएको आरोप छ । काठमाण्डौंमा अफिस रहेको जैसीको मालिका इन्कर्पोरेटमा जनार्दन शर्मा प्रभाकरको साझेदारी रहेको चर्चा पनि कैलालीमा छ । जनार्दनकै दवावमा मालिकाले स्मार्ट लाइसेन्सको विजनेश पाएको चर्चा पनि गरिन्छ । दोस्रो चरणमा कृषिको व्यवसायीकरण अन्तर्गत यो बर्ष ५ सय वटा पावर ट्रिलर, १५ वटा ठूला ट्याक्टर र केही थान रु. ५० लाख मूल्य पर्ने कम्बाइन मेसिनहरू खरिद गर्ने आयोजनाको तयारी छ ।
करोडौ रुपैयाँ कमाउन दुई महिना अघि लाखौ रुपैयाँ घुस खुवाएर सरुवा भई आएका आयोजनाका कृषितर्फका कार्यान्वयन इकाई प्रमुख सुनिल सिंह भ्रष्ट कर्मचारीका रुपमा चर्चित छन् । यसभन्दा अघिका प्रमुख कुलप्रसाद तिवारीले पनि टीकापुरबाट पाँच करोड बढी रकम कमिसन उठाई हिंडेको सरकारी कर्मचारीहरू खुलेआम बताउछन् ।
तिवारीको पालामा रानी जमरा कुलरिया सिँचाई आयोजनाको कृषि जागरण फेजमा ३० करोड बजेट विनियोजन भएको थियो । उक्त रकम वास्तविक किसानसम्म नपुगेरै सकिएको र उपलब्धि पनि केही नदेखिएको स्थानीय किसानहरूको भनाई छ । उक्त कार्यक्रमको नेतृत्व गरेका तिवारीले किसानका लागि कृषि औजारलगायतका सामाग्रीको खरिदमा करोडांै रकम कमिसन खाएको चर्चा नसेलाउदै फेरि नयाँ प्रमुख सुनिल सिंहको कमिसनको चर्चा सतहमा आएको हो ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना सम्पन्न नहुँदासम्म तिवारीले टीकापुरमै बस्न अनेकौं प्रयास गरे, तर माथि हाकिमहरूलाई रिझाउन नसक्दा उनको पोखरा सरुवा भयो । आयोजनामा लुट मच्चाएका तिवारीको सम्पत्ति छानविन हुनुपर्ने उनीसंगै काम गरेका कर्मचारी बताउछन् । 
चार बर्ष कार्यालय प्रमुख भई टीकापुरमा बसेका तिवारीले आयोजनाका कृषि कार्यक्रमहरूमा भ्रष्टाचार गर्दा छवि नै बिग्रियो भन्ने सुनिल सिँह किसानहरूसंग खुलेआम कमिसनको कुरा गर्छन् । सिंहले सहकारी र कृषि समूहमा आवद्ध किसान बाहेक ठूला किसानहरूलाई करोड माथिका अनुदानका योजना प्रस्ताव अफर गरी ३० प्रतिसत कमिसनको माग गर्छन् । 
कृषिको आधुनिकीकरण अन्तर्गतको दोस्रो पाँच बर्षमा सय करोड बजेट विनियोजन भएको छ । यो बर्षमात्र २० करोड रुपैयाँ खर्च गरिसक्नु पर्ने छ ।
गत बर्ष पनि आयोजनाले चपाईकै नयाँ तुलसी ट्रेड लिङ्कबाट १ सय २३ वटा पावर ट्रिलर र त्यसमा लाग्ने अन्य मेसिनहरू खरिद गरी अनुदानमा वितरण गरेको थियो । यसरी सांसद सरकारी कर्मचारी र व्यवसायीहरूको मिलोमतोमा हुनलागेको करोडौंको भ्रष्टाचारका विरुद्ध टीकापुर क्षेत्रका किसानहरूले अख्तियारमा उजुरी गर्ने तयारी थालेको खबर छ । आयोजनाले कृषि औजार खरिद गर्दा पारदर्शीरुपमा टेन्डर आव्हान गर्नुपर्ने माग किसानहरूको रहेको छ । – साँघु साप्ताहिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: