बेरोजगार किन बस्ने ? यी कुराहरु बुझेर बीमा-अभिकर्ता बन्ने, 'बीमा गराउने... पैसा कमाउने...' (टिप्ससहित)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- देशमा रोजगारी भएन भनेर खाडीका लागि दिनहुँ एयरपोर्टमा लाइन लाग्छ । केहि हजार रुपैयाँका लागि नेपालीहरुले विदेशमा रगत पसीना बेचीरहेका छन् । यो भीडमा राम्रै पढेका वा अरुलाई कन्भिन्स गर्न सक्नेहरु पनि छन् । तर नेपालमा 'स्कोप' बढ्दै गरेको बीमा व्यवसायमा बीमा अभिकर्ता भएर नेपालमै मनग्य कमाउनेहरु धेरै छन् । यतिसम्मकि केहि बर्षमै गाडी चढेर हिड्ने अभिकर्ताहरुको पनि कमी छैन नेपालमा । 

कमिशनका आधारमा बीमा कम्पनीको तर्फबाट गरिने यो काम, अरुले हल्ला गरेजस्तो गाह्रो पनि छैन । काम भनेको सार्है सजिलो त कहाँ हुन्छ र ? बीमा कम्पनीको तर्फबाट तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमितसमक्ष गई बीमाको 'बिजनेश' ल्याउने, र बीमाको प्रवर्धन गर्ने काम हो बीमा अभिकर्ताको । बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हो । बीमाको बारेमा व्यक्तिहरुका माझमा पुर्याउन तथा बीमा पोलिसीहरु बिक्री गर्न बीमा अभिकर्ताको मुख्य भुमिका हुन्छ । सिधै भन्दा पूरा बीमा बिजनेश अभिकर्ताले नै धानेका छन् । 

कति पढेको हुनुपर्छ ? कस्तो गुण हुनुपर्छ ?
बीमा अभिकर्ता हुन वा बन्न यति नै पढेको हुनुपर्ने तोकिएको छैन । अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण मात्र गरेको हुनुपर्छ । बजारमा प्लस टु फेल भएका तर अहिले यहि व्यवसायमा लागेर घर-गाडी जोडेका धेरै छन् । सबैभन्दा महत्वपूर्ण कुरा व्यक्तिहरुलाई सरल भाषामा बीमाका बारेमा बुझाउनसक्नुपर्दछ । बीमा अभिकर्तामा सबैभन्दा पहिले आफुले बुझ्ने र अरुलाई बुझाउन सक्ने क्षमता हुनु पर्दछ । केहि समय बुझेमा यो असहज काम होइन । सबैसँग राम्ररी बोल्ने, व्यक्तिले सोध्ने वा भनेका कुरा पूरा सुन्ने हुनुपर्दछ । बोलीमा मिठास भए अरुलाई कन्भिन्स गर्न सजिलो हुने नै भयो । व्यक्तिसँग बिजनेश ल्याउनुपर्ने हुनाले मिलनसार र सहयोगी भावना पनि हुनुपर्यो । 

अभिकर्ता बन्न के गर्नुपर्छ ?
बीमा अभिकर्ता बन्न चाहानेले कहाँ गर्ने र तालिम कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो । सबैभन्दा पहिले बीमा अभिकर्ता बन्ने इच्छाशक्ति हुनुपर्यो । यो पेशामा लागेर केहि गर्न नसकेका 'लन्ठु'हरुलाई होइन केहि गर्न सकेका क्षमतावानहरुलाई हेर्नुपर्छ । यसले तपाईंमा कन्फीडेन्स दिन्छ । बीमा कम्पनीहरुलाई बेला-बेलामा आवश्यक परिरहेको हुन्छ । अझ भन्दा पछिल्लो समय त अभिकर्ता हुन त्यति गाह्रो छैन । आफैं कम्पनीमा गएर 'अप्रोच' गर्दा पनि हुन्छ । काम गर्ने इक्षाशक्ति भए एसएलसीको सर्टिफिकेट बोक्ने, कम्पनी जाने । 

संगै फोटो पनि लैजानुपर्छ । सुरुमा तालिम लिने । यो तालिम खास महँगो हुँदैन । लाखौँ कमाउँछु भनेर आंटीसकेपछी केहि सयको मुख हेर्नु मुर्खता हो । तालिमको व्यवस्था बीमा कम्पनीले नै गर्छ । यो तालिममा धेरै कुरा सिकाइन्छ । तालिमले तपाईंको क्षमाता र आत्मविश्वास बढाउँछ । तालिम लिईसकेपछि बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समितीको ढाँचामा निवेदन दिनुपर्दछ । लाइसेन्स आएपछि बीमा गराउने, पैसा कमाउने । यो सेवा पनि भयो, काम गरे अनुसार पैसा पनि आयो । बीमा गर्नेले कम्पनीमा तिरेको पैसाबाट खुरुखुरु कमिसन आउँछ। भएन त काइदा ? 

के के नियम मान्नुपर्छ ?
हरेक व्यावासयाका आफ्नै नियम हुन्छन् । अभिकर्ताको हकमा पनि त्यो हुने नै भयो । बीमा समितिले तयार पारेको अभिकर्ताको आचरसंहिता अनुसार बीमा अभिकर्ताले निम्नअनुसार काम गर्नुपर्छ ।

१. बीमा समितिबाट प्राप्त बीमाको किसिमसमेत खुलेको बीमा अभिकर्ता इजाजतपत्र सधैं साथमा राख्नुपर्छ जुन ग्राहकले चाहेको देखाउनुपर्छ । यो कानुन भएपनि व्यावहारिक भने छैन । 

२. ग्राहकलाई आफु अभिकर्ता भएको बिमकको यथार्थ विवरण (पुंजीगत संरचना, लगानी निती, आदी ) मात्र जानकारी गराउनुपर्छ । पहिला पहिला हुने नहुने गफ दिएर पनि बीमा गराइने गरिन्थ्यो । अहिलेको जमानामा त्यस्तो हुँदैन । त्यस्तो गर्न पनि हुँदैन । नियममा बसेर काम गर्ने, पैसा कमाउने नि ! दुइचार पैसाका लागि किन नहुने गफ चुट्नु ?

३. बीमा अभिकर्ताले ग्राहकरुलाई प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु खुलाउन लगाई त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिई बिमक समक्ष पेस गर्नुपर्छ ।

४. ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त एंवम् सुविधाबारे पूर्ण जानकारी गराउनुपर्छ ।

५. ग्राहकको पेसा, सामाजिक हैसियत र स्तरबारे बिमकलाई छुट्टै जानकारी दिनुपर्छ ।

६. आवश्यकताअनुसार बिमकलाई 'अन्डरराइटिङ' कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनुपर्छ । यो भनेको के हो भन्ने जानकारी तपाईंलाई तालिममा राम्रै संग दिइन्छ ।

७. बिमितले अनुरोध गरेमा तोकिएको समयमा बीमा शुल्क बुझाउने, बीमलेख नविकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन गर्ने, बीमलेखवापत ऋण लिने, दाबी गर्ने वा आवश्यक अन्य बीमासम्बन्धी सेवा पुर्याउन सहयोग गर्नुपर्ने हुन्छ ।

८. बीमा अभिकर्ताले ग्राहकलाई बीमाको प्रस्ताव स्वीकृतिबारे बिमकको निर्णय अविलम्ब जानकारी गराउनपर्छ ।

९. ग्राहकले बीमा अभिकर्ता मार्फत बीमा शुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको अधिकारिक भर्पाई वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्नेछ र त्यस्तो बीमाशुल्क काबुवाहिरको अवस्थामा बाहेक सम्भव भएसम्म सोही दिन र सम्भव नभए भोलिपल्ट सम्बन्धित बिमकलाई दाखिला गर्नुपर्छ ।

१०. बीमा प्रस्ताव फाराम, स्वास्थ्यसम्बन्धी विवरण फाराम आदी प्रस्तावकले भर्नुपर्ने फारामहरु प्रस्तावकहरु स्वयंबाटै भराउनु पर्छ । प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरु भराउनुपर्ने हुन्छ ।

केहि टिप्स :
१. गर्ने आफुले हो । करियर आफ्नो हो । कसैले आएर 'लौ जागिर खाइदेउ बा' भन्नेवाला छैन । तर राम्रो बीमा अभिकर्ता बन्ने हो भने त्यो असम्भव पनि छैन । त्यसैले आँट गरेर बीमा कम्पनीमा बुझ्न गइहाल्नुहोस् । जाँदा सर्टिफिकेट, फोटो र नागरिकताको कपि लैजानुहोस् है !

२. मानिस न हो राम्रो कामका लागि कन्भिन्स भइनै हाल्छ्न् । यो ठगीको पेशा होइन । इमान्दारितापूर्वक गरिने बिजनेश हो । त्यसैले सत्य कुराहरु भनेर अरुलाई कन्भिन्स गराउने ।

३. अभिकर्ताले बीमा गराउन चाहाने व्यक्तिसँग फोनबाट कुरा गर्नु त्यति उचित हुँदैन । अलि विशेष कुरा गर्दा फोनमा कुरा गर्नु यसै पनि राम्रो होइन । व्यक्तिको घरमा गई घरका भेटेर बुझाउंदा धेरै राम्रो हुन्छ । अनि मात्र, उक्त सदस्यले विश्वास गर्दछन् र बीमा गर्नुपर्छ भन्ने धारणा आउँछ । तपाईंको व्यवहार अलिकति पनि नन-कन्भिन्सीङ भयो भने तपाईंको बिजनेश अर्कोले लैजाने पक्का छ ।
प्रकाशित : Wednesday, December 05, 2018

recent

Popular Posts