लुम्बिनी बिकास बैंकका ग्राहकहरु होसियार ! एउटै शाखामा १ हप्ताभित्र ५ वटा नक्कली नोट भेटिए ! (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पोखरामा १ हजार रुपैयाँका नक्कली नोट भेटिने क्रम बढेको छ । त्यसमा पनि पोखराको लुम्बिनी बिकास बैंकमा एक हप्ताभित्रै ५ वटा नक्कली नोट भेटिएका छन् । काठमाडौँमा नक्कली नोट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको केहि समयपछि पोखरामा यस्ता नक्कली नोट भेटिनुलाई त्यहाँका स्थानीयले अर्थपूर्ण रुपमा हेरेका छन् ।

बैंक भन्छ, 'दिनहुँ आउन थाले नक्कली नोट'
यता पोखरामा रहेको लुम्बिनी बिकास बैंकको न्यूरोड शाखाकि अपरेसन इन्चार्ज सफिना जोशीले पछिल्लो समय दिनानुदिन नक्कली नोट आउन थालेको बताएकी छिन् । ‘अव त धेरै सचेत हुनुपर्ने भयो । दैनिक रुपमै नक्कली नोट बैंकमा आउन थालेको छ।’ उनले भनिन् । उनले पछिल्लो हप्तामात्रै १ हजारका २ वटा नोट एउटै नम्बरको आएकोसमेत खुलासा गरेकी छिन् । सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली भएको प्रमाणित भएको उनको भनाइ छ । पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।

के भन्छ नेपाल राष्ट्र बैंक ?
यता  नेपाल राष्ट्र बैंकले भने पोखरामा मात्रै पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको जनाएको छ । ‘बिटोको बीचमा एउटा राखेर नक्कली नोट बजारमा ल्याईएको देखिन्छ । ’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने, 'नक्कली नोटको गिरोह पत्ता लगाउन हामीले प्रहरीको सहयोग लिएका छौं भने बैंकदेखि सहकारीसम्म सूचना जारीसमेत गरिसकेका छौं । बैंक पैसा राख्न आउँदा व्यक्ति आउँछन् या समूह आउँछ भन्ने निगरानी गर्न पनि निर्देशन दिएका छौं ।' उनले भने ।
प्रकाशित : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal