फाइनान्सिङ गरेर बजाजको बाइक किन्दा जनकपुरमा यस्तो लफडा, ग्राहक भन्छन्, 'फाइनान्सकै कर्मचारीले बाइक चोरे'

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर- जनकपुरमा समयमै किस्ता बुझाउँदा पनि फाइनान्सले बाइक घरबाटै चोरी गरेको आरोप लिएर पीडीतहरु प्रशासनसम्म पुगेका छन् । हुलाश इन्भेष्टमेन्टको जनकपुर शाखाबाट फाइनान्सिङ गरी किनिएको बजाजको २२० सीसी मोटरसाइकल (नम्बर ज ९ प १३४६)किस्ता समयमा तिर्दा पनि घरबाटै कम्पनीकै कर्मचारीहरुले चोरेर लागेको उनीहरुको आरोप छ । 

जव उजुरी प्रशासनसम्म पुग्यो 
'हाम्रो बाइक कम्पनीकै कर्मचारीबाट चोरी भएपछि हामीले प्रशाशनमा उजुरी गर्यौँ । तर हुलाश इन्भेष्टमेन्ट कम्पनीका कर्मचारी १० महिनामा बल्ल प्रशासनमा उपस्तित भए । त्यो पनि प्रहरीले जवरजस्ती गरेपछि । चोरी गरेर लगेको हाम्रो मोटरसाइकल हुलाशका कर्मचारीले नै चलाएका छन् । अनेक विभिन्न बहानामा हुलाशले गाडी दिन २० महिनादेखि विना कारण 'इन्कार' गरिरहेको छ ।' पीडीतले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार प्रशासन गुहार्दा पनि न्याय नमिलेपछि उनीहरु अदालत जाने भएका छन् । 'हाम्रो पीडाको सुनुवाई भएन ।   कम्पनीका कर्मचारीविरुद्ध अव हामी अदालत जाँदैछौं । हाम्रो ३ लाख ४३ हजार रुपैयाँ ठगी भएको छ । मोटरसाइकल चोरी गरिएपछि हामीलाई थप मानसिक तनाव पनि भएको छ ।' उनले भने । उनका अनुसार उनीसँग सबै कागजात सुरक्षित छ । 'हामीसँग सबै प्रमाण छ । यसरी दिन दहाडै फाइनान्स कम्पनीका कर्मचारीले नै बाइक चोरेर लैजाने भएपछि अव कसको विश्वास गर्ने ?' उनले भने ।  







'लफडा केहि छैन, नियम अनुसार नै काम गरेका छौं' : हुलास इन्भेष्टमेन्ट 
यता हुलाश इन्भेष्टमेन्टलेभने आफुले नियम अनुसार नै काम गरेको दावी गरेको छ । कम्पनीका रिकभरी विभागका निराजन कार्कीका अनुसार समयमै किस्ता नआएपछि कम्पनीले बाइक थुतेको हो । 'जनक अटोको ग्यारेन्टीमा हामीले लगानी गरेको हो । तर हाम्रो समयमा किस्ता आएन । किस्ता नआएपछि हामीले बाइक थुतेको हो । अहिले त्यो बाइक हामीसँगै छ । एक पटक ग्यारेन्टर कम्पनीले समेत पैसा हालिदिनुभएको हो ।' उनले भने । उनका अनुसार एक पटक हुलाशका कर्मचारीलाई प्रहरीले बोलाएपछी संस्थागत जानकारी दिन कर्मचारी गएको भएपनि जिल्ला प्रशासन कार्यालयमा भएका अन्य खाले उजुरीहरुको भने आफुहरुलाई औपचारिक जानकारी छैन । 'सबै काम कानुनअनुसार नै भएको छ । हामीसँग पनि सबै डकुमेन्ट सुरक्षित छ । कानुनअनुसार नै हामी अगाडी बढ्छौं ।' कम्पनीमा रिकभरी विभागका कार्कीले अर्थ सरोकार डटकमसँग भने । उनले हालसम्म चुक्ता भइसक्नु पर्ने ऋण अझै पनि चुक्ता नभएको बताए ।               
प्रकाशित मिति : Thursday, March 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal