प्रशासनको शरणमा पुगेर सेयर सदस्यको बिलौना, 'सहकारी लुटेरा यतिसम्म 'पावरफूल' परेछ, प्रहरीले नै खोज्न चाहेन'

 पोखरा
  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- ६ वर्षसम्म पनि आफ्नो सहकारी लुट्ने लुटेरा प्रक्राउ नभएपछि सेयर सदस्यहरुले प्रशासन गुहारेका छन् । २०६९ वैशाख २६ गते राति साविक पुरुञ्चौरको सहकारीमा भएको लुटपाटमा संलग्नलाई केहि व्यक्तिहरुले नाटकीय ढंगले बचाएको आरोप समेत लगाउँदै उनीहरु प्रसासनको शरणमा पुगेका हुन् । ‘लुटेरा पावरफूल परेछ । न पक्राउ पर्छ, न उसलाई पक्राउ गर्न सञ्चालक समितिले एक्सन नै लिन्छ । प्रशासनले एक्सन लिनुपर्यो हजुर ।’ प्रशासन पुगेर उनीहरुले बिलौना गरे । किटानी जाहेरी नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको प्रहरी भनाइ छ ।

सहकारी फोरेर ६ लाख १९ हजार ४ सय ५० रुपैयाँ लुटिएको थियो । लुटेरा पत्ता लगाउन स्थानीयले दबाब दिएपछि सञ्चालक समितिको रोहबरमा प्रहरी अनुसन्धानले छिट्टै लुटेरा पत्ता लगाउने आश्वासनसमेत दिएको थियो । तर अहिलेसम्म लुटेरा पक्राउ परेनन् । पोखरा–१७ मा पर्ने यो सहकारीमा अहिले झन्डै १ हजार ८ सय सेयर सदस्य छन् ।

‘प्रहरी घटनास्थल पुग्नुअघि नै केही व्यक्तिबाट प्रमाण नष्ट गर्ने काम भएको थियो । त्यसयता लुटेरा पत्ता लगाउन न सञ्चालक समितिले एक्सन लियो, न प्रहरीले गहिरो अनुसन्धान नै थाल्यो ।' स्थानीय जयराम गौतमले भन्छन्, 'घटनाको प्रकृति हेर्दा लुटेरालाई जोगाउन पो खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ । यसो त घटनाको छानबिन गर्न निर्मल गौतमको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । तर, समितिले पनि असहयोगका कारण गहिरो अनुसन्धान हुन नपाएको गुनासो सेयर सदस्यहरुको छ । 

सोमबार सञ्चालक समिति र सेयर सदस्यहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई भेटेर घटनाबारे जानकारी गराएका छन् । प्रजिअ बुढाले भने कसैमाथि शंका भए किटानी जाहेरी दिन आग्रह गरे ।
प्रकाशित : Tuesday, March 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal