×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिरासतबाटै अर्जुन गिरीसँगको अन्तर्वार्ता, ‘रगतले समाचार लेख्न तयार छु, तर फसाइयो भन्दैमा विचलित हुन्न’

PRIME CA

हिरासतबाटै अर्जुन गिरीसँगको अन्तर्वार्ता, ‘रगतले समाचार लेख्न तयार छु, तर फसाइयो भन्दैमा विचलित हुन्न’

४ बैशाख २०७६, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रेस काउन्सिल नेपालको लापरवाहीका कारण सोमबार ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउ परे । विपिन बताससँग सम्बन्धित एक समाचारलाई लिएर उनी विरुद्ध बतासले साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता भएपछि गिरी पक्राउ परेका थिए । प्रेस काउन्सिल नेपालका एक कर्मचारीले उक्त अनलाइन काउन्सिलमा दर्ता नभएको भनी विपिन बतासका नाममा पत्र लेखिदिएपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो ।
तर उनको अनलाइन काउन्सिलमा दर्ता थियो । पछि काउन्सिलले माफी माग्दै आफ्ना कर्मचारीबाट गल्ती भएको स्वीकारेको छ । ताण्डव न्यूज डटकम दर्ता भएपनि आफ्ना कर्मचारीबाट गल्ती भएको भन्दै उसले क्षमा याचनासहित सीआइबीलाई पत्र लेखिसकेको छ । तर काउन्सिलले उक्त पत्र दिंदा उनी पक्राउ परिसकेका थिए र उनीविरुद्धको कानुनी प्रक्रिया सुरु भइसकेको थियो । उनीविरुद्ध मुद्धा परेपछि देशभर विरोध प्रदर्शन भएको छ। 
अहिले उनलाई अदालतले ३ दिनको म्याद थपेको छ । स्वास्थ्यस्थितिका कारण उनी काठमाडौँको चिरायु अस्पतालमा हिरासतमा रहे । अर्थ सरोकारले अस्पतालमै पुगेर उनीसँग यस प्रकरणमा केहि सोधेको छ । हामीसंगको कुराकानीमा उनले आफु विचलित नहुनेसमेत बताएका छन् ।
१. स्वास्थ्यस्थिति के छ ?
पेट दुखेपछि अस्पताल लागिएको थियो । अहिले पुन: सीआइबी ल्याईएको छ । साथीभाईहरुको देशभरका धर्ना, विरोध र सहयोगले उत्साहित छु । अदालतले म्याद थप गरेको छ । सीआइबीसँग बयान सकियो । सरकारी वकिलकहाँ भोलि बयान हुने भनिएको छ ।
२. तपाईंको केसमा प्रेस काउन्सिलको गल्ती देखाइएको छ नि ? कुरा के हो ?
प्रेस काउन्सिलको लापरवाहीका कारण ममाथि मुद्धा लागेको हो । काउन्सिलकै सरहरु आएर आफ्नो गल्तीको प्रयास्चित पनि गर्नुभएको छ । कर्मचारीको त्रुटीले यस्तो भएको भनी माफी पनि माग्नुभएको छ । तर काउन्सिलको गल्तीका कारण मविरुद्ध मुद्धाको प्रक्रिया अगाडी बढीसकेपछि कानुनी लफडा जारी छ । तर साथीभाइले देशभर गरेको विरोध र काउन्सिलले आफ्नो गल्ती स्वीकारेपछि मेरो जित निश्चित भएकोमा म ढुक्क छु । तर काउन्सिलले अलि हेरिदिएको भए यो मुद्धा नै दर्ता हुने थिएन । उल्टै मलाइ फसाउने खालको पत्र लेखियो । जसका कारण विपिन बतासलाई बल पुग्यो । तर अव निस्केपछि कसरी अगाडी बढ्ने भन्ने विषयमा सोचीरहेको छु ।
३. पत्रकार महासंघ र काउन्सिलका कर्मचारीबाट कस्तो सहयोग वा असहयोग भयो ?
दिनभर म चिन्तित भएँ । सबै कुरा सामान्य प्रक्रियामा चल्यो । महासंघ र काउन्सिलले खास काम गरेको जस्तो लागेन । तर हिजो महासंघकै साथीहरुको रोहवरमा म यहाँबाट निस्किएर साथीको घर गएको थिएँ । हिजो पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, र क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य कमल बुढा आउनुभएको थियो । आज प्रेस चौतारी नेपालका महासचिव राजेश राइ र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले दिनभर मलाइ छुटाउने प्रयास गर्नुभएकै हो । तर कानुनी प्रक्रियामा केस अगाडी बढेपछी सम्भव भएन । काउन्सिलकै अध्यक्षले प्रयास गर्दा पनि कुरा मिलेन । तर महासंघ र काउन्सिलले जुन हिसावमा सहयोग गर्छ भन्ने सोचेको थिएँ, त्यो अनुसारको सहयोग भने भएन । जुन रुपमा अरु संगठनहरुको सक्रियता छ जस्तो लागेको थियो, त्यस्तो देखिएन । पत्रकारका लागि लड्छु भन्ने केहि संगठनका जिम्मेवार पधाधिकारीहरु फोन अफ गरेर बस्नुभएको छ ।  

४. अहिले हिरासतको बसाइ कष्टपूर्ण त छैन नि ?
छैन । सहकर्मी बिजय लम्साल रातदिन लागिरहनुभएको छ । साथी सुरज प्याकुरेल सँगै हुनुहुन्छ । केहि परे उहाँहरुले गरिरहनुभएको छ । कानुनी प्रक्रिया अगाडी छिटो बढाउन उहाँहरु दौडीरहनुभएको छ । बाहिरका साथीहरुले पत्रकार पक्राउको विरोध गरेर सहयोग गरिरहनुभएको छ । पोखराका पत्रकारहरु धर्नामा हुनुहुन्छ । साथी सुरज र बिजयले सबै कुरामा अपडेट गराईरहनुभएको छ । त्यसैले बसाइ असहज छैन । तर समाचार लेखेकै आधारमा मेरो हातमा पहिलो पटक हतकडी लाग्यो । अपराधिको व्यवहार भयो । कोहि व्यापारीको उक्साहटमा प्रेस काउन्सिलकै लापरवाहीका कारण ममाथि मुद्धा चलाइयो । यो मेरो लागि मात्र होइन, समग्र पत्रकारिता जगतकै लागि दुखको कुरा हो ।
५. अव कसरी अगाडी बढ्ने सोच्नुभएको छ ?
मलाई गोली हानेर मारिदिएको भए बरु हुन्थ्यो । मेरो इमानमाथि जिस्काउने काम भयो । यसको मूल्य सम्बन्धित पक्षले चुकाउनै पर्छ । अव त कुरा मेरो मात्र होइन, समग्र पत्रकारिता क्षेत्रको हो । यहाँबाट छुटेपछि बतासका थप कर्तुतहरुबारे लेख्नेछु । म अलिकति पनि विचलित छैन । अव त मलाइ देशभरका पत्रकारहरु र प्रेस काउन्सिलको पनि साथ र सहयोग छ । मलाई जसले फसाउन खोजे, तिनीहरुले पत्रकारिता के हो भन्ने कुरा अव बुझ्नेछन् । म अलिकति पनि विचलित छैन । विचलित हुन्न पनि ।
५. तपाईंको शुभचिन्तकहरुलाई केहि भन्न चाहानुहुन्छ ?
अहिले धेरै भन्न सक्ने अवस्थामा छैन । तर ढुक्क हुनुस् म सम्मानका साथ निस्किंदैछु । मेरो गल्ती केहि छैन भन्ने प्रमाणित भइसकेको छ । गलत तरिकाले गलत मान्छेलाई पक्रने काम भयो भनेर प्रहरीहरुले पनि बुझिसक्नु भएको छ । यहाँबाट निस्केर झन् शशक्त भएर लाग्नेछु । ताण्डव अव साच्चैको ताण्डव हुनेछ । बरु रगतले समाचार लेख्न तयार छु, विचलित हुन्न । गुण्डा, भ्रष्टाचारीहरु विरुद्धसमाचार लेखिरहनेछु । 

हेर्नुहोस् भिडियो

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: