×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गर्‍याे । कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए ।
बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो । सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए ।
उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपुर्‍याउने श्रेय सम्पूर्ण अभिकर्ताहरूको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद व्यक्त गरे ।
सम्पूर्ण अभिकर्ताहरूले आमनागरिकलाई बीमाका बारेमा बुझाएर मात्र बीमा गराउन उनको सुझाव थियो । पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरू र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे ।
त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए ।
कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरियाे । मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएको कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा भएको थियो ।
कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल,प्रशासन एवं मानव संसाधन प्रमुख सोन बहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले उत्कृष्ट व्यवस्थापन गरेकाे साे कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको हो ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एकतिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा १४ अर्ब ७ करोड बीमा शुल्क संकलन गरेको छ ।
१ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: