×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive : इसेवामा नेपाल टेलिकमको नम्बर प्रयोग गर्नेहरु होसियार ! यसरी हुन्छ तपाईंको ब्यालेन्स चोरी ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

Exclusive : इसेवामा नेपाल टेलिकमको नम्बर प्रयोग गर्नेहरु होसियार ! यसरी हुन्छ तपाईंको ब्यालेन्स चोरी ! (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तपाईं हामीसँग नेपाल टेलिकमको सिमकार्ड छ । यहि सिमकार्ड हामी हाम्रो इसेवा लगायतका वालेटमा , र बैंक एकाउन्टमा समेत लिंक गरेर चलाईरहेका छौं । तर के हामीले विभिन्न वालेटहरुमा र हाम्रो बैंक एकाउन्टमा लिंक गरेको नेपाल टेलिकमको सिमकार्ड सुरक्षाका दृष्टिकोणले सुरक्षित छ त ? काठमाडौँ, कौशलटारमा व्यापार गरी बस्ने साजन श्रेष्ठले भोगेको घटनाले पुष्टी गर्छ- अहँ नेपाल टेलिकमको सिमकार्ड इसेवा वा मोबाइल बैंकिङमा प्रयोग गर्नु असुरक्षित छ । 
साजन श्रेष्ठ । कुसलटारमा पसल छ उनको । मोबाइल मर्मत लगायतका काम हुने उनको पसलबाट इसेवाको व्यावसायिक कारोबार पनि हुन्छ । यसैका लागि उनले आफ्नो इसेवा एकाउन्टमा पैसा राखेका हुन्छन् । तर एकाएक आफ्नो इसेवा एकाउन्टबाट रकम गायब भएपछी उनी तीन छक्क परे । केहि समय अगाडी मात्र लोड गरेको रकम एकाएक गायब भएपछी उनी रनभुल्लमा परे । पछी बुझ्दै जाँदा थाहा भयो कि उनको नाम गरेर ह्याकरले उनको नामको सिमकार्ड हरायो भनेर नेपाल टेलिकमबाट लिइ, उनको इसेवा एकाउन्ट ह्याक गरी रकम निकालेको रहेछ । 
उनको नाम साजन श्रेष्ठ, घर काभ्रेपलान्चोक । तर नेपाल टेलिकममा साजन श्रेष्ठ नाम गरेका रसुवाका व्यक्तिको नागरिकता पेश गरिएको छ । न पुस्ते विवरण हेरिएको छ, न नागरिकता नम्बर भेरिफाइ गरिएको छ । नेपाल टेलिकमले मात्र नाम हेरेर असम्बन्धित व्यक्तिलाई सिमकार्ड दिंदा काभ्रेपलान्चोक घर भएका साजन श्रेष्ठ नमज्जासँग ठगिए। 
जब उनले आफ्नो एकाउन्टमा भएको रकम चलाउन खोजे, इसेवा एकाउन्टमा समस्या देखियो । पासवर्ड मिलेन भन्ने जानकारी आएपछि उनले केहि भएको होला भनेर आफ्नो पासवर्ड रिसेट गर्न खोजे । पासवर्ड रिसेट गर्न मोबाइल चाहिने भएकाले उनले मोबाइल प्रयोग गर्न खोजे । तर मोबाइलमा नेटवर्क नै देखाएन । त्यसपछि उनी नेपाल टेलिकम गए । बल्ल थाहा भयो कि नक्कली साजन श्रेष्ठले सक्कली साजन श्रेष्ठको सिमकार्ड लगी, इसेवा ह्याक गरी रकम चोरी गरेको रहेछ । 
टेलिकमको सिष्टम खराबीले ठगिंदै ग्राहक !
इसेवाबाट बार्षिक लाखौँको कारोबार गर्ने उनले धन्न त्यो दिन इसेवामा धेरै रकम लोड गरेका रहेनछन् । रकम ४५ सय चानचुन रुपैयाँ थियो । तर १ रुपैयाँ नै किन नहोस्, आफ्नो सिमकार्ड नै अरुले लगेर रकम ह्याक भएपछी उनले कानुनी उपचार सुरु गर्ने निर्णय गरे।  तर टेलिकममा जाँदा टेलिकमले पनि यस्तो घटना पहिलो पटक आएको भन्ने जवाफ दियो उनलाई । त्यसपछि उनले प्रहरीलाई पनि खबर गरे भने उनले इसेवामा पनि आफ्नो एकाउन्ट ह्याक भइ पैसा चोरिएको जानकारी गराए । उनको आशंका छ- कोहि एक व्यक्ति भन्दा पनि ठुलै गिरोह लागेको छ यस्तो धन्दामा । ह्याकरहरुले म्याक बुक चलाएको देखिन्छ । यसकारण पनि साना केहि व्यक्ति यस्तो धन्दामा लागेको भन्दा पनि ठुलै गिरोह यस्तो धन्दामा लागेको हुनुपर्ने उनको भनाइ छ । 
ह्याकरले टेलिकममा प्रक्रिया पूरा गरेर नै सिमकार्ड लिएको देखिन्छ । ह्याकरले सिमकार्ड लिन चाहिने फर्मसमेत भरेका छन् भने आफ्नो नागरिकताको कपि पनि छोडेका छन् । यतिमात्र होइन उनले साजन श्रेष्ठ नाम गरेको सक्कल नागरिकतासमेत पेश गरेका छन् । तर नेपाल टेलिकमसंग नाममात्र भेरिफाइ गर्ने सिष्टम भएकाले सक्कली साजन श्रेष्ठलाई नक्कली साजन श्रेष्ठले ठगेका छन् । कमजोरी नेपाल टेलिकमको सिष्टममा छ । त्यहि कमजोरीको फाइदा उठाउँदै ह्याकरहरु सक्रिय छन् । तर यसरी दिनानुदिन प्रयोगकर्ताहरु ठगिदा पनि नेपाल टेलिकमले आफ्नो सिष्टम नसुधार्नुलाई पनि टेलिकमको नियतमाथि कतै प्रश्न त छैन भन्ने आशंका जो कोहीलाई हुन सक्छ। 
के भन्छ नेपाल टेलिकम ?
साजन श्रेष्ठले आफु ठगिएको गुनासो गरेपछि हामी यस विषयमा बुझ्न गठ्ठाघरको नेपाल टेलिकम पुगेका थियौं । तर गलत व्यक्तिलाई कसैको सिमकार्ड पुग्न गएको स्वीकारे पनि नेपाल टेलिकम गठ्ठाघरका सूचना अधिकारी माधव खड्काले आफ्ना कर्मचारीले लापरवाही गरेको भन्ने आरोप भने स्वीकारेनन् । बरु उनले आफ्नो सिष्टममा भएको कमजोरीका कारण यस्तो काम भएको दाबी उनको थियो । सिमकार्ड लिन व्यक्ति सक्कल नागरिकता लिएर आएपछि आफुले सिमकार्ड दिएको उनको भनाई छ । नाम त दुइवा दुइभन्दा व्यक्तिको मिल्ने भयो, पुस्ते विवरण हेर्ने चलन छैन ? भन्ने हाम्रो प्रश्नमा उनको भनाइ थियो-टेलिकममा मात्र होइन धेरै ठाउँमा नाम मात्र हेर्ने गरेका छौं । 
टेलिकममा समेत यस्तो घटना पहिलो भएको बताउंदै उनले सिमकार्ड लैजाने व्यक्तिको नियत नै गलत भएको भन्दै आफुहरुले प्रहरीलाई समेत गर्नुपर्ने कुनै पनि सहयोग आफुहरुले गर्ने बताएका छन् । आफ्ना ग्राहकहरुलाई नागरिकता दुरुपयोग भएकोतर्फ सचेत हुनुपर्ने सुझाव दिएपनि उनले आफ्नो भन्दा पनि साजन श्रेष्ठ स्वयमकै गल्ती भएको दाबी गर्नसमेत छोडेनन् । प्रहरीमा जाहेरी दिएका साजन श्रेष्ठको सिमकार्ड लगी गलत काम गर्ने व्यक्तिलाई कानुनी कठघरमा ल्याउन आफुहरुले सकेको कुनै पनि खालको सहयोग गर्ने उनको भनाई थियो । 
यसो त नेपाल टेलिकमको सिमकार्ड दुरुपयोग गरेर पटक पटक यस्ता ह्याक हुने गरेका तथ्यांक छन् । केहि दिनअघि पनि आफ्नो देश फर्कन लागेका केहि चिनियाँहरुलाई प्रहरीले एयरपोर्टबाट ठुलो परिणाममा नेपाल टेलिकमका सिमकार्डसहित प्रक्राउ गरेको थियो । यसले पनि नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरी गैरकानुनी काम गर्न ठुलै गिरोह लागेको पुष्टी हुन्छ । तर यस्ता घटनाको पटक पटक साक्षी हुँदा पनि नेपाल टेलिकम नामकै भरमा सिमकार्ड वितरण गरिरहेको छ । यसले गर्दा एकातर्फ टेलिकमप्रति जनताको विश्वास घट्दै गएको कुरामा कुनै शंका छैन । पछिल्लो एक आर्थिक बर्षमा झन्डै ३० लाख नेपाल टेलिकमका प्रयोगकर्ता घट्नुले पनि नेपाल टेलिकम प्रति जनताको विश्वास घट्दै गएको भन्ने तथ्यलाई सप्रमाण पुष्टी गर्छ । 
तथ्यहरुले देखाईसकेको छ कि यो प्रकरणमा नेपाल टेलिकमकै दोष छ । यसरी नाम हेरेरै सिमकार्ड असम्बन्धित व्यक्तिलाई दिने हो भने त हामी कसकोचाहिं सिमकार्ड सुरक्षित छ र ? एक पटक फेसबुकमा गएर हेर्नुहोस् त उही नाम गरेका व्यक्ति त कति हुन्छन् कति । नेपाल टेलिकमले यो तथ्य किन बुझिरहेको छैन वा बुझेर पनि ह्याकरहरुलाई सहज बनाइ दिएको छ, प्रश्न गम्भीर छ। 
साजन श्रेष्ठको भाग्य नै भन्नुपर्छ, सो दिन उनले ४५०० रुपैयाँ चानचुनमात्र इसेवामा लोड गरेका छन् । तर इसेवाको व्यवसायिक कारोबार गर्ने उनले सो दिन ठुलो रकम राखेको भए सो दिन ठुलै रकम ह्याक हुन सक्थ्यो । इसेवा एकाउन्ट मात्र होइन, मोबाइल नम्बर प्रयोग गरी बैंकको खातासमेत ह्याक हुन सक्छ । यति ठुलो जोखिम हुँदा पनि नेपाल टेलिकमभने आफ्ना ग्राहकहरुमाथि हुनुपर्ने जति उत्तरदायी हुन सकेको छैन । 
यस्ता घटनाबाट कसरी बच्ने त ? 
यता बैंकिङ क्षेत्रमा काम गरिरहेका आइटीकर्मीहरु भने ह्याकरहरुबाट आफ्नो बैंक एकाउन्टमा रहेको रकम जोगाउनका लागि सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन् । टेलिकममा गलत मेसेज दिएर, वा सिमकार्डको प्रयोग गरी पासवर्ड चोर्ने लगायतका घटना दिनानुदिन बढीरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने बैंकमा काम गरिरहेका आइटीकर्मीहरुको छ । 
नेपालको समग्र आइटी, टेलिकम लगायतका संस्थाको सिष्टम, बैंकहरुकै पनि कतिपय सिष्टमहरुमा समस्या भएको बताउने नेपालका आइटी विज्ञहरु पनि यस्ता सार्वजनिक संस्थाहरुको सिष्टममै खोट देख्छन् । करोडौं रुपैयाँ खर्च गरेर बनाइएको सिष्टममा खोट छ, टेलिकम निसन्देह यस्तै छ हाम्रो सिष्टम भनेर पन्छिन खोज्छ अनि जनताहरु ठगिइरहेका छन् । यसतर्फ तपाईंहामी सबै सचेत हुन जरुरी छ । 
आइटी विज्ञहरु भन्छन् सिष्टममा खोट छ, हामी सचेत हुनुपर्छ । बैंकरहरु भन्छन्, ग्राहकहरु सचेत हुनुपर्छ । टेलिकम भन्छ- हाम्रो सिष्टम नै यस्तो छ । अनि हामी ग्राहकहरु ठगिरहेको देखेर पनि लाचार भएर भगवान भरोसे भएर बस्नुपर्ने स्थिति छ । डिजिटलाइजेसनतर्फ जाँदै गरेको मुलुकमा यस्ता ह्याकरहरु सक्रिय हुँदा सम्बन्धित निकाय सिरियस हुन ढिलो पो होला कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: